‘आर्थिक पत्रकारितामा महिलाको उपस्थितिलाई संख्यात्मक मात्रै होईन, गुणात्मक वृद्धि गर्नुपर्छ’
काठमाडौँ। नेपालको आर्थिक पत्रकारिता क्षेत्रमा महिलाको उपस्थिति निकै कम रहेको अग्रज पत्रकारहरुले बताएका छन्। महिला आर्थिक पत्रकार संघ (फेजा) र नविल बैंकको सह योजनामा गत आईतबार काठमाडौँमा भएको नीतिगत छलफल कार्यक्रममा बोल्दै वक्ताको रुपमा रहेका अग्रज पत्रकारहरुले यस्तो बताएका हुन।
बैकिङ्ग अवस्था, चुनौती र आगामी कार्यदिशामा केन्द्रीत रहेर गरिएको नीतिगत बहस कार्यक्रममा ‘आर्थिक पत्रकारितामा महिलाः चुनौती र आगामी कार्यदिशाा’ शिर्षकमा सामूहिक छलफल तथा अन्तर्क्रिया गरिएको थियो ।
छलफलमा नेपाल टेलिभिजनकी नायव महाप्रबन्धक आरती चटौत र आर्थिक पत्रकार समाजका संस्थापक अध्यक्ष तथा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधान वक्ताको रुपमा रहेका थिए। यस कार्यक्रमको सहजकर्ताको रुपमा फेजा–उपाध्यक्ष पत्रकार, रुपा घिमिरे रहेकी थिईन।
छलफलमा दुवै वक्ताहरुले विश्वमै आर्थिक पत्रकारितामा मात्रै नभई आर्थिक क्रियाकलापमा नै महिलाको उपस्थिति कम रहेको बताए। आर्थिक पत्रकारितामा संख्यात्मक र गुणात्मक दुवै रुपमा महिलाको उपस्थिति बलियो नभएको निचोड निकाल्दै गुणात्मक वृद्धिलाई प्राथमिकता दिनुपर्नेमा दुवैले जोड दिएका छन्।
प्रधान सम्पादक प्रधानले आर्थिक पत्रकारितामा पहिलाको उपस्थिति बाक्लै हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए। उनका अनुसार आर्थिक पत्रकारितामा मात्रै नभई अर्थसँग सम्बन्धित अन्य क्षेत्र व्यापार व्यावसाय, बैंक तथा वित्तीय संस्थामा पनि महिलाको उपस्थिति बढ्दो क्रममा रहेको छ। आर्थिक क्षेत्रमा महिलाको उपस्थिति विस्तारै भइरहेपनि हुनुपर्ने जति तिव्र गतिमा नभएको जनाए।
आजको दिनसम्म आउँदा समयमा तलब नपाईने, सुविधा नहुने जस्ता कुराहरुले गर्दा पत्रकारितामा भविष्य नै नदेख्ने र महिलाहरु आउनै नचाहेको अवस्था पनि रहेको उनको भनाई छ। साथै केही मात्रामा महिलाहरु पत्रकारितामा आईहालेपनि उनीहरु आफै पनि आर्थिक विद्या सुरुमै रोज्न हिचकिचाउने र मिडिया हाउसले पनि सामाजिक विषयवस्तुसँग सम्बिन्धत विधा छुट्ट्याइदिने गरेको अवस्था रहेको छ।
उनले भने, ‘आज आर्थिक महिला पत्रकारले छुट्टै संस्था सञ्चालन गर्ने अवस्थामा आईपुगेछौँ। जबकी हामीहरुले सेजनको सुरुवात गर्ने समयमा ७ जना महिला पुर्याउन गाह्रो भएको थियो।’
यद्यपी पनि महिलाहरु अहिले जुन उच्च पदमा हुनुपर्ने हो, जुन किसिमको रिपोर्टिङ महिलाबाट आउनुपर्ने थियो। जस्तो प्रस्तुति आर्थिक पत्रकारितामा महिलाको हुनुपर्ने थियो। त्यो नभएको प्रधानले बताए।
नायव महाप्रबन्धक चटौतले नेपाल पत्रकार महासंघको तथ्यांक अनुसार नेपालको पत्रकारितामा महिला पत्रकारको हिस्सा १० प्रतिशत पनि नपुगेको र त्यो तथ्यांक वास्तविक भन्दा धेरै पर रहेको बताइन। महासंघको नियम अनुसार रकम तिरेर सदस्यता लिनेको मात्रै तथ्यांक उल्लेख रहेको हुँदा त्यो वास्तविक तथ्य मान्न सकिने अवस्था भने छैन।
साथै केही समय अगाडी सञ्चारिकाले निकालेको तथ्यांक अनुसार महिला पत्रकारिताको संख्या २५ प्रतिशत पुगेको जानकारी गराइन् सञ्चारिकाको अध्ययन रिपोर्टमा इलेक्ट्रोनिक मिडिया बढेसँगै महिलाको सहभागिता बढेको निष्कर्ष रहेको बताइन।
नेपालको अवस्थालाई उदृत गर्दैगर्दा विश्वको परिवेशलाई पनि नियाल्नुपर्ने उनको भनाई छ। अमेरिकामा आर्थिक महिला पत्रकार ३८ प्रतिशत रहेको र भारतमा पछिल्लो १० वर्षलाई तुलना गर्दा ३ प्रतिशतले घट्दो अवस्थामा रहेको अध्ययनले देखाएको जानकारी गराइन् ।
‘रोयटर्सले एक रिपोर्ट अनुसार पत्रपत्रिकामा महिलाहरुको बाई लाइन ३७ प्रतिशत देखिएको छ। तर, हुन त यो राम्रो हो तर जहाँ ५० प्रतिशत भन्दा बढी महिला हुनुहुन्छ। त्यो उपस्थितिलाई सत प्रतिशत मानेर हेर्ने हो भने त यो भनेको निकै कम हो। रोयटर्स जस्तो संस्थामा आबद्ध भएका पत्रकारमा पनि महिलाको हिस्सा ३७ नाघ्न सकेको छैन।’ उनले भनिन् ‘त्यसकै अर्को अध्ययनले के देखाउँछ भने सुन्दरता, खाना, सामाजिक, महिला जस्ता विद्यामा महिलाको बाईलाईन ७० प्रतिशतको हाराहारीमा पुग्छ।’ राम्रो पत्रकारिता गर्नेहरुका सूचिमा पनि आर्थिकरूपमा कम र अन्यमा बढी भएको उनले बताईन।
त्यस्तै एक संस्थाले २ सयवटा आउटलेटहरु सर्वेक्षण गर्दा ३० प्रतिशत संस्थामा महिला सम्पादक भएर नेतृत्व रहेको देखिएको जानकारी गराउँदै जापानमा कुनै पनि मिडियामा महिला सम्पादक नरहेको देखिएको बताईन। उक्त अध्ययन अनुसार नर्वे तथा साउथ अफ्रिकाजस्ता देशमा बाक्लो उपस्थिति पनि देखिएको जानकारी गराईन। यसरी आर्थिक सूचकमा अगाडी रहेका देशहरुमा महिलाको उपस्थिति कम भएको बताईन।
साथै महिला आफै पनि र नेतृत्व तहले आर्थिक पत्रकारितामा महिलाको अस्तित्वलाई स्वीकार गर्न हिचकिचाउने तथा अन्य विविध कारणले उपस्थिति कम भएको उनले बताईन।
आर्थिक पत्रकारितामा महिलाको कम उपस्थितिः परम्परागत सामाजिक चिन्तनको उपज
दुवै वक्ताहरुले पितृसतात्मक सामाजिक सोचको प्रभावका कारण अझैपनि महिलाहरु उल्लेख्य मात्रामा आर्थिक पत्रकारितामा उपस्थित हुन नसकेको बताएका छन।
महिलाको जिम्मेवारी पारिवारिक हो आर्थिक हैन। भन्ने जस्ता पितृसतात्मक सोच प्रभाव आजपनि रहेको र सोही कारण आर्थिक क्षेत्रमा महिलाको उपस्थिति कम रहेको उनीहरुको भनाई छ।
‘हाम्रो समाजले छोरा र छोरीलाई हुकाउने तरिका नै फरक फरक छ। बच्चालाई दिने खेलौना देखि पढाउने विषय, दिईने संस्कार र जिम्मेवारी नै महिला र पुरुपमा फरक गरिरहेको हामीले अझै पनि पाउँछौँ।’ उनले भने, ‘सामन्ती समाजको पितृसतात्मक सोचबाट उठेका हामीहरूमा पनि यसको केही प्रभाव परेको कारण महिलाको क्षेत्रमा हुनुपर्ने जति विकास नभएको होला।’
महाप्रबन्धक चटौतले महिलालाई आर्थिक क्षेत्रमा नपत्याउने र अवसर नदिने अभ्यास विश्वमा पहिलेदेखि नै हुँदै आएको बताईन। दोस्रो विश्वयुद्ध हुनुअघि केही महिला पत्रकारहरुले एकदमै गुणस्तरीय पत्रकारिता गरिरहेको अवस्थामा पनि महिलाले लेखेको पत्याउँदैनन्, विश्वसनिय हुँदैन भनेर महिलाको नाम छोटकरीमा लेखि पुरुषले लेखेको भन्ने भ्रम पारिने गरेको तत्थ्य प्रस्तुत गरिन्।
उनले त्यस्तै सोचका कारण कतिपय कुराहरु संविद्यान, ऐनमा भएको तर व्यावहारमा कठिनाई भएको जनाईन्। उदाहरणका लागि उनले संविद्यान र ऐनमा आमाको नामबाट नागरिकता पाउने व्यवस्था भएपनि बैंक खाता खोल्न आमाको नामले नहुने र बाबुको नाम अनिवार्य गरिने गरेको बताईन।
आर्थिक साम्राज्य पुरुषको भन्ने बुझाई
–पछिल्लो समय समावेशीकरणको विषयमा बहस, ऐन, कानुन तथा नियम नै बनेर अगाडी आउँदा पनि व्यावहारिक पक्षमा हुनुपर्ने जति परिर्वतन नभएको अवस्था छ। महिलाको प्राथमिकतामा पारिवारिक विषय नै हुने र दोस्रोमा मात्रै आर्थिक हुने गरेको पाईन्छ। अर्थात महिलाले बाहिर आर्थिक क्रियाकलापमा सक्रिय हुँदा पहिला पारिवारिक जिम्मेवारी पुरा गर्नै पर्ने र पुरुषको हकमा भने बाहिरको काम सकिएपछि मात्रै घरको काम गरेपनि हुने वा नगरेपनि हुने सामाजिक अवस्था रहेको वक्ताहरुले बताए।
पारिवारिक जिम्मेवारी पुरा गर्नैपर्ने बाध्यात्मक जिम्मेवारीको कारण महिलाले अध्ययन, अनुसन्धान, सर्वेक्षण तथा रिपोर्टिङ गर्न पर्याप्त समय नै नहुने गरेको महाप्रबन्धक चटौतले बताईन। जसले गर्दा महिलाहरु आर्थिक पत्रकारितामा आईहालेपनि जाने र पुरुषहरु भने केही टिकाउ भएर रहने उनको भनाई छ।
इकोनोमिक सेक्टर भनेको पुरुषको साम्राज्य हो भनेर बुझिएको चन्दनले बताईन। जुन कुरा पत्रकारितामा पनि झल्किएको उनको आरोप छ।
सरकारले महिलालाई सहुलियतपूर्ण कर्जा अहिले रोकिँदा उल्टै बैंकहरुले खाएको आरोप पनि आएको छ। तर, त्यसमा महिलाले पाउनुपर्ने थियो, कसरी पाउनुपर्न थियो भनेर छलफल र प्रोत्साहन हुनु टाढाको कुरा भयो सरकारले नै रोकेको हो भनेर बुझाउन आजको पत्रकारिताले नसकेको उदाहरणका लागि उनले बताईन।
उनले भनिन्, ‘इकोनोमिक सेक्टरलाई पुरुषको सेक्टर किन हो भने म एउटा उदाहरण दिन्छु, यता स्टक मार्केटमा हेर्ने हो भने, यसका लागि संसारभरि एउटा सिम्बल हुन्छ, बुल । बुल भनेको कुनै प्रोडक्टीभिटी नदिने काम न काजको सडकमा छोडिने जनावर हो नि त, यस्तो जनावर कसरी स्टकको सिम्बल भयोरु किनकी त्यो ‘मेल अर्थात पुरुष प्रजाति’ हो।
यता अहिले वर्ड बैंकको डाटा हेर्दै गर्दा महिलाहरु जम्मा ५ देखि ६ प्रतिशत मात्रै सिईओ हुनुहुन्छ। नेपालमा त अहिले त्यो पनि छैन।’
प्रधान सम्पादक प्रधानले लिंगका आधारमा कसैको दिमागको मूल्याकंन नहुने बताए। यदि त्यस्तो हुन्छ भने त्यो भन्दा ठुलो मुर्खता अरु नहुने उनको भनाई छ।
साथै इन्द्रागान्धी, मार्गारेट थँचर जस्ता महिला अर्थतन्त्रमा सफल ऐतिहासिक व्यक्तित्व भएको उदाहरणलाई हेर्दै पनि आर्थिक क्षेत्र पुरुषको भनेर स्व मुल्यांकन गर्न नहुने बताए। अहिले भारतमा पनि अर्थमन्त्री महिला नै रहेको उदृत गरे।
पत्रकारितामा महिलाका आर्थिक पक्ष गौण
पत्रकारितामा महिलाहरुका आर्थिक पक्षहरुको उदृत खासै नहुने गरेको वक्ताहरुले बताएका छन।
आर्थिक स्टोरीमा महिलाका विषयहरु खोज्दै गर्दा वैदेशिक रोजगारमा जाने महिला, महिलाका व्यावसायीक तथा उद्योग व्यवसायका कुराहरु मिडियामा महत्वका साथ आएको देखिदैन।
प्रधानका अनुसार पत्रिकामा कहि कतै महिलाका आर्थिक पक्ष जोडिए त्यहाँका समस्या पहिचान गरि समाधान गर्नेसम्मका समाचारहरु खासै पाईँदैनन्।
त्यस्तै चटौतले नेपालको परिवेशमा पत्रकारिता नै ‘भन्नुभयो/बताउनुभयो’ र राजनैतिक विषयलाई मात्रै महत्वका साथ हेरिने र अरु विषय नै सेकेन्डरी रहने बताईन। महिलाका आर्थिक पक्ष धेरै नै गौण रहने विश्वव्यापी ट्रेन रहेको उनको भनाई छ।
आरक्षण हैन स–सशक्तिकरण, संख्या हैन गुणस्तरमा जोड दिउँ
आर्थिक पत्रकारितामा महिलाको उपस्थितिलाई संख्यात्मक भन्दापनि गुणात्मक वृद्धि गर्नुपर्ने र त्यसको लागि आरक्षण भन्दा पनि स–सशक्तिकरणमा जोड दिनुपर्नेमा वक्ताहरुले जोड दिएका छन। पर्फमेन्स देखाउने ठाउँमा आरक्षण त्यत्ति राम्रो नभएको चटौतले बताईन। विश्व श्रम संगठनले नेपाल जस्तो देशमा महिलाले पुरुषको तुलनामा दुई गुणा बढी काम गर्न सक्ने तथ्यांक देखाएको जानकारी गराउँदै महिला बढी खटिन सक्छन् भने त्यो खटाई स–सशक्तिकरणमा हुनुपर्ने बताईन।
साथै एउटा महिलाले आफ्नो जीवनको सबैभन्दा बढी उत्पादनशील समय १५–३५ वर्ष अर्थात २० वर्षमा दुई बच्चा जन्माएर हुर्काउँछन् । त्यसैमा समय व्यतित गर्छन् । पुरुषले त्यहि समय कमाउनमा खर्च गर्छन्।
महिलाले बच्चा जन्माउनुको विकल्प त रहँदैन तर हुर्काउने कुरामा पुरुषले पनि अपनत्व लिने हो भने महिलाको बढीमा ४ वर्ष मात्रै व्यतित हुन्छ। बाँकी समय उनले पनि आर्थिक क्षेत्रमा लगानी गर्न सक्छिन्। परिवार र बच्चाको त्यो दायित्व पुरुषले अपनत्व लिएर महिलालाई अध्ययन तथा अन्य क्षमता अभिवृद्धिमा लाग्न समय दिनुपर्ने उनको भनाई छ।